//
logo

आइतबार, जेष्ठ १२ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १२ आइतबार

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा


  • आइतबार, जेष्ठ १२ २०८२
  • 2.2K
    SHARES

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् । कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।

    यस क्रममा आइतबार कोटिहोममा स्याङ्जा जिल्लाका पालिका बाट प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । कोटिहोममा गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारी, आँधीखोल गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष सीता थापाको उपस्थित रहेको थियो ।

    उनीहरूले कोटिहोम दर्शन मात्रै होइन पालिका बाट अनाथ बालबालिकाका लागि अभिभावक वन्ने घोषण समेत गरे । गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई र  वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले पालिकाको तर्फबाट अनाथ वाल वालिकाको अभिभावक बन्न १/१ लाख सहयोग गर्ने घोषण गरे । त्यति मात्रै होइन मानव सेवाका लागि आवश्यक परेमा अन्य शीर्षकमा पनि सहयोग गर्ने सकिने वचन दिए ।

    कोटिहोममा बोल्दै गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराईले मानव जीवनलाई सार्थक बनाउनका लागि मानव सेवामा जोडिन सबैलाई आग्रह गरे । ‘मानव सेवा फाउन्डेसनले अनाथ वाल वालिका र ज्येष्ठ नागरिकको लालन पोषणको अभियानमा सञ्चालन गरेको यो कोटिहोम आफैमा उत्कृष्ट छ’ उनले भने, ‘धर्तीमा आफ्नो उपस्थितिलाई सार्थकता बनाउन पनि यस कोटिहोममा आएर सबैले सहयोग गरौँ ।’

    वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले यस्ता खलाका महायज्ञले नैतिक शिक्षा तथा आफ्नो धर्म संस्कार सिकाउने काम गरेको हुनाले देशका हरेक ठाउँमा यस्ता महायज्ञ गर्नु पर्ने उल्लेख गरिन् । उनले देशलाई धर्म सापेक्ष बनाउनका लागि सबै लाग्नु पर्ने बताइन् ।

    कोटिहोममा पं. सूर्य प्रसाद तिमिल्सिनाबाट २५ हजार ५ सय ५ अर्घखाचीका दधिराम पाण्डेले १५ हजार १ सय १५, पोखरा–१० का कुमान सिंह गुरुङबाट १५ हजार, एकता टोल नारी समूह लिला बराल बाट रु २५ हजार ५ सय ५५, गलेश्वर ज्येष्ठ नागरिक समूह  पोखरा गलेश्वर मार्ग बाट २५ हजार ४ सय, पोखरा– २३ की ८८ वर्षिया सन्तु देवकोबाट  बाट रु ७ हजार २०, फेदी खोला स्याङ्जाकी कमला बरालबाट ३ टिप समिधा, तालबराही मन्दिर गुठी व्यवस्थापन संस्था बाट  रु २५ हजार ५ सय ५५, इन्द्रेणी आमा समूहबाट १५ हजार ५ सय ५५, स्याङ्जा दरबार चोक आमा समूह फेदी खोला ४ बाट ११ हजार ५ सय सहयोग प्रदान भएको छ ।

    केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भए पछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

    कोटिहोम शनिवार देखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको लामिछानेले जानकारी दिए । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायक थानेश्वर गौतमको भजन प्रस्तुतिले अतिथि तथा भक्तजन छमछम नाचेका थिए । पोखराका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले पनि कोटिहोमको दर्शन गरेका छन् ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    कोटिहोममा आज देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का ‘बिखर्ची’ ले विश्वमा शान्तिको सन्देश फैलाउन यस्ता कोटिहोम आवश्यक रहेको बताए । ‘हाम्रो सनातन धर्म संस्कृतिको जगेर्ना सँगै यसबारे जनचेतना जगाउन आयोजना गरिएको यो वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट छ’–उनले भने ।
    प्रतियोगितामा आइतबार १७ जनाले सहभागिता जनाएका छन् । उनीहरूले सनातन धर्म र कोटिहोमका वारेमा खुलेर आफ्ना भनाई राखेका थिए । आज प्रतियोगितामा बाँके, जुम्ला, पर्वत स्याङ्जा, कास्की, नवलपुर, बागलुङ, रुपन्देही, लमजुङ, चितवन, कीर्तिपुरबाट सहभागिता रहेको थियो ।
    प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजकालगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्पयोग पूजा, मंगल चतुर्थी व्रतउद्यापन, सप्तवार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋणमोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्तिपाठ, श्रीसूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दशमहादान, अष्टमहादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech