logo

मंगलबार, असार १० २०८२

kantipurpationlinetv

२०८२ असार १० मंगलबार

भानु नगरपालिकाको सोह्रौ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

भानु नगरपालिकाको सोह्रौ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत


  • शुक्रबार, असार ६ २०८२
  • 6.8K
    SHARES

    भानु नगरपालिकको १६ औं नगर अधिवेशन विहिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अधिवेशनले नगरप्रमुख त्रिपाठीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित गरेको छ ।

    भानु नगरपालिकाले ‘साहित्य पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौं समृद्ध र समुन्नत भानु हाम्रो’ भन्ने मुख्य नारा तय गरेको छ । नीति तथा कार्यक्रममा नगर प्रमुख त्रिपाठीले राजस्व क्षमता अभिवृद्धि गर्ने र सिर्जनात्मक अभ्यासबाट गतिशील योजना तथा बजेट तर्जुमा गर्दै ‘समृद्ध नगर, सुखी नागरिक’ को लक्ष्य प्राप्त गर्ने विश्वास लिएका छन् ।

    भानु नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सर्वसुलभ एवं सहजरुपमा स्वस्थ्यमा पहुँच, गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन एवं रैथाने वाली संरक्षण, उत्पादन प्रशोधन, प्रबद्र्धन तथा बजारीकरण, सुशासन अभिवृद्धि, दिगो लक्ष्य प्राप्तिका भौतिक पूर्वाधार संरचना निर्माण, वातावरण संरक्षण, विपद तथा आपतकालीन व्यबस्थापन, सामाजिक सुरक्षा, उद्यमशिलता, रोजगारी सिर्जना तथा नवप्रवर्तन, सार्वजनिक जग्गाको संरक्षण तथा निजी–सहकारी साझेदारी र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।

    त्यसैगरि नीति तथा कार्यक्रमले मुख्यतया संस्थागत क्षमता विकास र सुशासन प्रवद्र्धन लाई उच्च प्राथमिकतामा राख्दै जबसम्म संस्थागत संरचना बलियो हुँदैन, जबसम्म भित्र सुशासनको जग मजबुत नबन्ने र तबसम्म हामीले देखेका समृद्धिका सपनाहरू पूर्ण हुन नसक्ने ठहर गर्दै विभिन्न विषयलाई जोड दिएको छ ।

    नगरपालिकाले कर्मचारीको क्षमता अभिवृद्धि अन्तर्गत नगरपालिकाका हरेक कर्मचारीलाई दक्ष, उत्प्रेरित र जिम्मेवार बनाउन हामीले तालिम, सीप विकास र उचित प्रोत्साहनका कार्यक्रमहरू सन्चालन गर्ने भएको छ । त्यस्तै सूचना प्रविधिको अधिकतम प्रयोग अन्तर्गत डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न, नगरपालिकाका सेवाहरूलाई थप अनलाइनमैत्री बनाउने र घरैबाट सेवा लिने वातावरण सिर्जना गरी समय र स्रोतको बचत गराउने लक्ष्य लिएको छ ।

    त्यस्तै सार्वजनिक खरिद प्रक्रियादेखि लिएर विकास निर्माणका हरेक चरणमा पारदर्शिता सुनिश्चित गरिने र नागरिकलाई हरेक सूचनामा सहज पहुँच दिलाई उनीहरूको जवाफदेही सहभागिता लाई सुनिश्चित गरिने नीति दिएको छ । ‘मेरो नगरपालिका, मेरो निगरानी’ भन्ने भावनालाई मूर्तरूप दिइने भएको छ । त्यस्तै नागरिकका गुनासोहरूलाई व्यवस्थित रूपमा सुन्ने, सम्बोधन गर्ने र समाधान गर्ने संयन्त्रलाई थप सशक्त बनाउने तथा नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण मार्फत नागरिकलाई विकासको हिस्सेदार बनाइने नीति लिएको छ ।

    भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नगरपालिका शून्य सहनशीलताको नीतिमा अगाडि बढ्ने भन्दै हरेक कर्मचारी तथा जनप्रतिनिधिले आचारसंहिताको पूर्ण पालना गर्दै नैतिकता र सदाचार लाई आफ्नो जीवनशैली बनाउनुपर्नेमा जोड दिईएको छ ।

    सबै जनताले न्यायको अनुभूति गर्न पाउन् भन्ने सुनिश्चित गर्न न्यायिक समितिलाई थप सक्रिय बनाई स्थानीयस्तरका विवादहरूलाई छिटो, छरितो र निष्पक्ष रूपमा समाधान गरिने भएको छ ।

    त्यसैगरि ‘भानु जन्मस्थल जाऊँ भानुलाई चिनाऔं’ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासको लागि शुरुवात गरिएको प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक पार्क, पूर्वाधार निर्माणको लागि संघीय सरकारद्वारा विनियोजित बजेटका साथै दातृ निकाय एवं देश विदेशमा आवश्यक समन्वय गरिने भएको छ ।

    नगर सभाको आगामी असार १० गते बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech