
धुनिवेशी नगरपालिकाको १७ औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समावेशी, न्यायसंगत तथा विकासमुखी नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरिएको छ।
नगर प्रमुख आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक समावेशीकरण, पूर्वाधार सुदृढीकरण, शिक्षा र स्वास्थ्य पहुँच विस्तार, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माण गर्ने दिगो दृष्टिकोण प्रस्तुत गरिएको छ। “न्याय र समानताको आधारमा सेवा प्रवाह” भन्ने मूल मन्त्रका साथ प्रस्तुत कार्यक्रमले समावेशी विकासलाई केन्द्रमा राखेको छ।
नीति तथा कार्यक्रमले ‘धुनिवेशी नगरपालिकाको समृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यापार सहितको पूर्वाधार’ भन्ने नारालाई आत्मसात गरेको छ। साथै, ‘एक वडा, एक उत्पादन’, ‘जेष्ठ नागरिक सेवा’, ‘कृषि तथा पशुपालन विस्तार’, ‘फलफूल तथा तरकारी खेतीको प्रवर्द्धन’ लगायतका कार्यक्रम निरन्तरताका साथ अघि बढाइने जनाइएको छ।
नगर उपप्रमुख सुरज उप्रेतीले नगरसभामा आगामी वर्षको लागि ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ। क्षेत्रगत रूपमा विश्लेषण गर्दा, बजेटमध्ये:
सामाजिक विकासका लागि: ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ
पूर्वाधार विकासका लागि: ३८ करोड ४२ लाख ५० हजार
आर्थिक विकासका लागि: ६ करोड १३ लाख
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि: १ करोड ५२ लाख
कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा: १७ करोड ४२ लाख विनियोजन गरिएको छ।
नगरपालिकाले नीति तथा कार्यक्रममार्फत दीगो र समावेशी विकासको रोडम्याप प्रस्तुत गर्दै स्थानीय स्तरमा आर्थिक एवं सामाजिक परिवर्तनको मार्ग खोल्ने विश्वास लिएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी