
काठमाडौँ, १९ असार । तत्कालीन जनयुद्धका कालखण्डमा राज्यद्वारा हत्या गरिएका प्रगतिशील पत्रकार, साहित्यकार तथा क्रान्तिकारी व्यक्तित्व कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन भएको छ।
सामाजिक न्याय, क्रान्तिकारी चेतना र मुक्तिको सपना बोकेको इच्छुकको योगदानलाई स्मरण गर्दै निर्माण गरिएको यस गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत तथा रमण थामीको सशक्त स्वर समावेश गरिएको छ। गीतकार दाहालले यो सिर्जना इच्छुकजस्ता युगद्रष्टा र अग्रगामी पत्रकारप्रति श्रद्धाञ्जलीको रूपमा प्रस्तुत गरिएको बताए। “इच्छुकको प्रेरणालाई गीतमार्फत जिवन्त राख्ने प्रयास गरेका छौं,” दाहालले भावुक हुँदै भने।
संगीतकार कालिकोटेले गीतको धुन इच्छुकको साहसी र बलिदानी जीवनबाट प्रेरित भएर तयार गरिएको जानकारी दिए। “यो सिर्जना साधारण श्रद्धाञ्जली होइन,” उनले भने, “यो क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो, जसले नयाँ पुस्तालाई विचार र संघर्षको मर्म सम्झाउनेछ।”
गीतमा स्वर दिएका गायक रमण थामीले इच्छुकको योगदान स्मरण गर्दै गीत गाउने क्रममा आफू निकै भावुक बनेको अनुभव सुनाए। “यो गीत भावनात्मक श्रद्धाञ्जली मात्र होइन, वैचारिक उत्तराधिकारको सम्मान हो,” थामीको भनाइ छ।
२०५९ साल जेठ १३ गते तत्कालीन सुरक्षाकर्मीहरूले कृष्ण सेन इच्छुकलाई गिरफ्तार गरी हिरासतमा अमानवीय यातना दिई हत्या गरेका थिए। इच्छुकको हत्या सम्बन्धी खबरले त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो। उनी नेपाली क्रान्तिकारी पत्रकारिताका प्रतीक तथा जनमुखी साहित्यका अगुवा मानिन्छन्।
गीत ‘सलाम इच्छुक’ लाई केही दिनभित्रै भिडियोसहित युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। जनयुद्धकालका साहित्य, संगीत र सांस्कृतिक आन्दोलनका अगुवा मणि थापाका अनुसार, यो गीत इच्छुकको नाम र विचारलाई आगामी पुस्तामाझ पुर्नस्थापित गर्ने गहिरो प्रयत्न हो। “यो सिर्जना विचार र बलिदानको मूल्य सम्झाउने ऐतिहासिक दस्तावेज बन्नेछ,” उनले विश्वास व्यक्त गरे।
इच्छुकसँग लामो समय संगत गरेका साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले भने, “यो गीतले नेपाली गीत–संगीतमा इतिहासको मूल्याङ्कन गर्ने नयाँ मानकको स्थापना गर्नेछ।”
‘सलाम इच्छुक’ गीत न केवल एक सांगीतिक अभिव्यक्ति हो, यो विचार, संघर्ष र परिवर्तनको बाटोमा हिँडेका सपनाहरूको सम्मान पनि हो – इच्छुकप्रतिको सच्चा सलाम।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी