
श्रीलंकाको कोलम्बोस्थित सुगथदासा इनडोर स्टेडियममा जुलाई ५ र ६ तारिखमा सम्पन्न नवौं क्याडेट, जुनियर, यु–२१ तथा सिनियर दक्षिण एशियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका अर्पण थापा मगर (कार्डिन) ले जुनियर पुरुष व्यक्तिगत कुमुते +७६ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हात पारेका छन्।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–७ निवासी अर्पणले यस पदकसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पार्न सफल भएका छन्। प्रतियोगिता साउथ एसियन कराते फेडेरेसन (SAKF) को आयोजनामा र श्रीलंका करातेडो फेडेरेसनको व्यवस्थापनमा सम्पन्न भएको थियो।
अर्पणको साथमा नेपाली टोलीलाई टिम म्यानेजर प्रेमलाल बम्जनले नेतृत्व गरेका थिए।
स्वर्ण पदक जितेको यही दिन अर्पणको जन्मदिनसमेत परेको अवसरमा उनका पिता दिपसागर थापाले छोरालाई यसरी बधाई दिएका छन्:
“हार्दिक शुभकामना अनि बधाई !
आज जन्म दिन अनि
स्वर्ण पदक जितेकोमा
शुभकामना अनि बधाई !
श्रीलंकामा जारी नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०८२ मा पुरुष -७६ केजी तर्फ (शहीद लखन-७,गोरखा निवासी ) अर्पण थापा मगर (कार्डिन) ले स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना ।”
दिपसागर थापा स्वयम् एक चर्चित गायक, सर्जक तथा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत हुन्।
छोरा अर्पणको यस उत्कृष्ट सफलताले सम्पूर्ण परिवार, गोरखा जिल्ला र समग्र राष्ट्रलाई गर्वको अनुभूति गराएको छ। उनलाई आगामी दिनमा अझै ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिन्छ।