logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

‘ग्लोबल स्टार अवार्ड’बाट प्रवासी नेपाली सेफहरू सम्मानित

‘ग्लोबल स्टार अवार्ड’बाट प्रवासी नेपाली सेफहरू सम्मानित


  • बुधबार, बैशाख ३ २०८२
  • 4.6K
    SHARES

    नव वर्ष २०८२ को अवसरमा बुधबार आयोजित कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरिएको हो ।

    सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा (पूर्वमा कतारमा कार्यरत) रहेका छन्।

    उनीहरूलाई प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। यसैगरी विशिष्ट अतिथिहरू नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजय कुमार मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, तथा समाजसेवी, व्यवसायी एवं गैरआवासीय अभियन्ता रुद्र शर्माले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रधानन्यायाधीश रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा “नेपाल पर्यटन प्रवद्र्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयमा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो। अध्यक्ष सरोज ओझा र  न्यूजलाईन्स मिडियाका राजु भट्टले नेपाली खानाको प्रबर्धन साथै पाककला शिल्प र संस्कृतिको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech