
बेलायतस्थित बाग्लुङ्गे समाज यूकेले आयोजना गर्ने बहुप्रतीक्षित वार्षिक भेटघाट कार्यक्रम २०२५ अब केही हप्तामात्रै बाँकी रहँदा, समाजले कार्यक्रमलाई अझ भव्य र अविस्मरणीय बनाउन अन्तिम तयारी तीव्र बनाएको छ।
शनिबार, ५ जुलाई २०२५ का दिन हुने उक्त कार्यक्रममा, यस वर्ष पनि बाग्लुङ्गको माटोले जन्माएका राष्ट्रियस्तरका चर्चित कलाकारहरू युवराज मगर, नितु पुन, र सिता परियारलाई निमन्त्रणा दिइएको छ। उनीहरूका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र भिसा समेत प्राप्त भइसकेको जानकारी आयोजक समितिबाट प्राप्त भएको छ।
कार्यक्रमको थप आकर्षणको रूपमा बाग्लुङ्गे नौमती बाजा, स्थानीय कलाकारहरूद्वारा प्रस्तुत सांस्कृतिक नृत्य, र आकर्षक पुरस्कार सहितको राफल ड्रो पनि संचालन गरिनेछ। विशेष रुपमा झ्यामरे भाकामा दोहोरी गाउने अवसर पनि सहभागीहरूलाई प्रदान गरिनेछ, जसले बाग्लुङ्गको मौलिक संस्कृति झल्काउने अपेक्षा गरिएको छ।
यस वर्षको कार्यक्रमलाई झनै रंगीन बनाउन बेलायतमै रहेका चर्चित बाग्लुङ्गे कलाकारहरू अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देबी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल, र स्रिष्टी मगर अतिथि कलाकारका रूपमा कार्यक्रममा सहभागी हुनेछन्। समयले साथ दिएसम्म सबै अतिथि कलाकारले एक–एक प्रस्तुति दिने कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ।
समाजले सबै बाग्लुङ्गे तथा नेपाली समुदायलाई सपरिवार उपस्थित भई, स्वादिष्ट खानपिनसहित रमाइलो गर्नका लागि हार्दिक आमन्त्रण गरेको छ। कार्यक्रमले बेलायतस्थित नेपाली समुदायमा सांस्कृतिक पहिचानलाई झल्काउने र आपसी भाईचारालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।