
समय परिवर्तनशील छ, समयसँगै सोच, संस्कार र व्यवहार पनि परिवर्तन हुँदै जानु स्वाभाविक हो । तर, यदि हामी बदलिँदो समयसँग तालमेल मिलाउन असफल भयौं भने, हामी आफैं पछाडि परिरहेका हुन्छौं । यस्तै एउटा विषय हो–विवाह, जुन नेपाली समाजमा परम्परागत रूपमा ‘सामाजिक प्रतिष्ठा’ को सूचक मानिँदै आएको छ । तर के अहिले पनि यही सोच उपयुक्त छ ?
आजको समाजमा शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा राज्यको सेवा असफल हुँदै गएकाले नागरिकलाई निजी क्षेत्रमा भर पर्न बाध्य बनाएको छ । सरकारी विद्यालय र अस्पतालहरू केही अपवाद बाहेक अधिकांशमा न्यूनतम गुणस्तरसमेत पाउन गाह्रो छ। यसले मध्यम वर्गीय र निम्न आय भएका परिवारहरूलाई शिक्षा तथा स्वास्थ्यमा अत्यधिक खर्च गर्न बाध्य बनाएको छ ।
यही आर्थिक दबाबबीच एक अर्को ठूलो बोझ थपिन्छ— विवाह ।
परम्परा कि प्रदर्शन?
नेपालमा विवाह केवल दुइ आत्माको मिलन होइन, धेरैजसो अवस्थामा ‘सामाजिक प्रतिस्पर्धा’ को माध्यम बनेको छ । विवाहका नाममा ८/१० तोला सुन, भव्य भोज, महँगा लुगा, सवारी साधनदेखि लिएर सजावटसम्म–यी सबैमा लाखौं खर्च गर्ने परम्परा जस्तै बनिसकेको छ ।
तर, सबैको आर्थिक अवस्था एउटै हुँदैन । पैसा नभए पनि समाजको दबाबमा परेर विवाह गर्नुपर्ने हुँदा धेरै युवाहरू र परिवारहरू ऋणमा डुबिरहेका छन् । हिजो आफ्नै देशमा बसेर केही गरौं भन्ने सोच भएका युवाहरू विवाहपछिको ऋणको भारीका कारण विदेशिन बाध्य छन् ।
जब विवाह ऋणको कारण बन्छ
आजको वास्तविकता यही हो–विवाह जस्तो पवित्र संस्था अनावश्यक खर्च र समाजको देखावटी मानसिकताका कारण आर्थिक समस्याको जड बन्दै गएको छ । परिणामस्वरूप, युवाहरू देशभित्र रहनुभन्दा वैदेशिक रोजगारीलाई रोज्न थालेका छन् । यो केवल व्यक्तिगत समस्यामात्र होइन, देशको जनसांख्यिक र सामाजिक संरचनाका लागि खतरा हो । एकातर्फ बेरोजगारी, अर्कोतर्फ अत्यधिक खर्चिलो विवाह। यो दोहोरो मारले गर्दा आज नेपाली समाजमा वैवाहिक जीवन सुरुवातको खुसी होइन, संकटको थालनी बन्न थालेको छ।
विकल्पः विवाह होइन, व्यवसायमा लगानी
कल्पना गरौं— यदि हामी विवाहमा खर्च गर्ने ५ लाख, १० लाख रुपैयाँ सीप आधारित व्यवसायमा लगानी गर्यौं भने ?
शुरुमा यस्तो कल्पना गर्न कठिन लाग्न सक्छ, किनभने समाज सधैं भिडकै पछि दौडिन्छ । तर परिवर्तन सधैं एक/दुई व्यक्तिबाटै सुरु हुन्छ ।
‘कम खर्चिलो, अर्थपूर्ण र विवेकसम्मत विवाह’ संस्कार बन्यो भने न केवल व्यक्तिगत जीवन सहज हुन्छ, बरु सामाजिक र आर्थिक दृष्टिले पनि मुलुकलाई फाइदा पुग्छ । एउटा युवा नेपालमै सीप र व्यवसायमा लाग्न सक्यो भने, उनीसँगै अन्य सदस्यहरूलाई पनि देशमै रोजगारीको सम्भावना बढ्छ।
निष्कर्ष
विवाह खुसीको प्रारम्भ हो, बोझको होइन । अब समय आएको छ–अनावश्यक खर्च कम गर्ने, सीप र व्यवसायमा लगानी गर्ने सोच बनाउने ।
सस्तो, मर्यादित, आत्मीय र सम्मानजनक विवाहलाई नयाँ सामाजिक संस्कारको रूपमा स्थापना गर्न हामी सबैले सशक्त पहल गर्न जरुरी छ । खर्चिलो विवाहको विकल्प खोजौं–आर्थिक स्वतन्त्रता र पारिवारिक स्थायित्वको मार्ग निर्माण गरौं।
‘परिवर्तन सधैं असहज लाग्छ । तर असहज कुराबाटै नयाँ सम्भावना जन्मिन्छ।’
–धन्यवाद ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल